भैरव रिसाल: होचो कदको उच्च निष्ठा

रमेश दवाडी 



सिद्धान्तः पत्रकारितालाई समाजको ऐना भनिन्छ । पत्रकारहरु समाजको आँखा र कानका रुपमा परिचित छन् । पत्रकार जो निरन्तर सूचना प्रवाहमा दत्तचित्त खटछन् । त्यसैले समाजमा उनीहरुको भूमिका अहम् छ । ९० वर्षे वरिष्ठ पत्रकार भैरव रिसाल आफ्नो समयमा उम्दा पत्रकार थिए । होचो कदका रिसालले ५ दशकको पत्रकारिता करियरमा ‘उच्च सम्मान’ पाएका छन् ।  उनले आधादर्जन भन्दा वढी प्रधानमन्त्रीसँग रिर्पोटिङ गर्ने अवसर पाएका थिए । उनको पत्रकारिता अनुभवमा केन्द्रित भएर तयार पारिएको यो आलेख: 

पत्रकारितामा प्रवेश  

म तीनधारा पाठशालामा आचार्य पढ्दै थिएँ । घरमा मद्दत गर्नुपर्ने भएपछि मलाई जागिर चाहियो ।  जागिरको लागि धेरै ठाउँमा भौतिारिएँ । धेरै कोसिस गरेँ । त्यो बेलामा ‘हालखबर’ दैनिक भन्ने एउटा ‘फुच्चे’ पत्रिका निस्कन्थ्यो ।  मेरो चिनजानका मान्छे पूर्णप्रकाश उपाध्याय हुनुहुन्थ्यो । उहाँ दरबारमा जनसम्पर्क अधिकृत हुनुहुन्थ्यो । मैले जागिर पाइन, अब म पोलिटिक्समा लाग्छु भनेँ उहाँलाई । म पोलिटिक्समा लागे उहाँको दाजू नेत्रनाथ शर्माको पोलिटिक्स बिग्रन्थ्यो । अनि उहाँले मलाई ‘पख्नुस्’ भनेर ‘चिर्कटो’ लेखिदिनुभयो । हालखबरको प्रोाइटर रङ्गनाथ शर्मा हुनुहुन्थ्यो । नेत्रनाथ शर्माले लेखिदिएको ‘चिर्कटो’ को लिएर म गएँ । मेरो अन्तरवार्ता भयो । ‘‘धाराको निवेदन लेख त !’’ भन्नुभयो । मलाई जाँच गरिएको रहेछ, पछि मात्रै थाहाँ पाएँ । धाराको निवेदन होइन निबन्ध पो लेखेछु । (हाँसो...) अनि उहाँले लेख्न सिकाउनुभयो ।

गएकै दिन रिर्पोटरमा नियुक्ती पाएँ, सय रूपैयाँ तलबमा । अत्यन्तै खुसी भएँ ।  भोको मान्छेले खान पाएको जस्तो भयो । यो २०१३ साल माघको कुरा हो ।  त्यतिबेला रिर्पोटिङ गर्न मान्छे पाइन्नथ्यो । हालखबरको सम्पादक दाताराम जी हुनुहुन्थ्यो । पत्रकारिताको बारेमा मलाई ज्ञान थिएन । हामी पढ्ने स्कूल बनारस विश्वविद्यालयबाट सम्बन्धन भएको हुनाले त्यहाँ हिन्दी पत्रिका आउँथ्यो । पत्रिकाको नाम ‘आज’ दैनिक थियो । ब्रोडसिटमा निस्कन्थ्यो । समाचार स्रोतका रुपमा आज, गोरखापत्र पढ्ने र रेडियो सुन्ने काम हुन्थ्यो । पत्रकारिताका मेरा गुरू भनेपनि ज्ञाता भनेपनि तिनै माध्यम थिए ।   

खसीको मासु बेचेको त्यो समाचार 

हालखबरमा जागिरे भएकै दिन अफिसले मलाई नयाँ साइकल किनिदियो । २०१३ सालमा साइकल चढन पाउनु चानचुने कुरा थिएन् । पहिलो रिर्पोटबारे म अनविज्ञ छु । हालखबरमा काम गर्दा एउटा समाचारले निकै चर्चा पाएको थियो । अहिलेको समयमा त त्यो समाचार बन्छ÷बन्दैन थाह छैन् तर त्यतिबेला भने राम्रो मसला बन्यो । शनिबारको दिन चारखाल अड्डा डिल्लीबजार (हालको डिल्लीबजार कारागार) मा दिउँसो खसीको मासु भाग लगाएर बेचेको सुनेँ । भर्खर पत्रिकामा काम थालेको मलाई जिज्ञासा लाग्यो । सरकारी अड्डामा खसी काटने ? यही जानकारी लिएर हालखबरको अफिसमा गएँ ।

पत्रिकाको अफिस कमलपोखरीमा थियो । सम्पादकले चासोपूर्वक मेरो कुरा सुने । मैले सरकारी कार्यालमा मासु बेचेको समाचार लेखें । यो जानकारी हालखबरमा ‘बक्स न्युज’ बन्यो । म बक्स न्यूजबारे अनविज्ञ थिएँ । वक्स न्युज भनेको महत्वपूर्ण समाचार हुने रहेछ । पाठकको आँखा लाग्ने रहेछ । त्यसपछि हल्लाखल्ला भयो काठमाडौँमा । त्यति बेलामा टंकप्रसाद आचार्य प्रधाममन्त्री हुनुहुन्थ्यो । त्यो समाचारको विषयलाई लिएर टंकप्रसादजीले बोलाउनु भयो । उहाँले हप्काउनु भयो । ‘क्या ग¥या यो !’ अनि मैले ‘यस्तै हो’ भनेँ । मैले उहाँ समक्ष प्रतिरक्षा गरेँ । ‘यस्तो नगर्नु’ भन्नुभयो । मैले ‘‘सरकारी अड्डामा मासु बेच्न हुन्छ त ?’’ यस्तै के भनेँ मैले । मलाई त्यो न्युजले स्थापित हुन मद्दत ग¥यो । अरू न्युज त सामान्य भइहाले । अनि यस्तो नि हुँदो रहेछ भन्ने भो मलाई । त्यसपछि रिर्पोटिङको क्रम अघि बढिरह्यो ।   

बिपीको ‘अफ द रेकर्ड’ 

२०१५  सालमा जन निर्वाचित प्रधानमन्त्री विपी कोइराला प्रधानमन्त्री भए । ०१६ सालमा उहाँ चीनको भ्रमणमा जानुभयो । त्रिपुरेश्वरमा प्रधानमन्त्री निवास थियो । (अहिलेको कर कार्यालय रहेको ठाउँ) त्यहाँ पत्रकार सम्मेलन आयोजना गरियो । प्रधानमन्त्रीले ‘अफ द रेकर्ड’ भन्नुभयो,–‘चीनले सगरमाथा दाबी ग¥यो’ भन्नुभयो । भारतीय पत्रकारहरू धेरै थिए उक्त प्रेस मिटमा । पिटिआई, युएनआई, एपी र  रोयर्टसका पत्रकार पनि सहभागी थिए । पत्रकार सम्मेलनपछि चिया खान नलागी उनीहरू त ज¥याकजरुक उठे, सगरमाथा चीनले दाबी ग¥यो भनेपछि । म प्रधानमन्त्रीकहाँ प्रेस सम्मेलन, मिठो–मिठो खान पाइने, अनि न्युज लेख्न नि भ्याइने, त्यहाँ खाजा खान लागेँ । म हालखबरमा गएर दुई प्यारा न्युज लेखेँ । त्यो अफ द रेकर्ड भन्ने पनि मलाई थाहा थिएन् ।

अफ द रेकर्ड भनेको फलानाले भनेको भन्न नहुने रहेछ । बिपी कोइरालालले भनेको भन्न नहुने, विश्वस्त सुत्रबाट भनेर समाचार दिन मिल्ने रहेछ । त्यसपछि त्यो न्युज जम्मा दुई प्यारा लेखेँ, अरू त थाहा छैन् । भोलिपल्ट हेर्दा भारतीय अखबारहरूमा ३/४ कोलमा मेन न्युज आयो । म हिस्स भएँ । यस्तै–यस्तै घटनाबाट मेरो पत्रकारिता यात्रा अगाडि बढ्यो । पत्रकार हुन खोजेर म पत्रकार भएको होइन, अरू पेसा नभएर पत्रकारितामा आएको । 

राससमा प्रवेश 

मैले लोक सेवा पास गरेर पनि जागीर खान पाइएन् । यो दुखद पक्ष हो तर, यता राष्ट्रिय समाचार समितिमा नियुक्त भएपछि घाउमा मलम लगाएको अनुभूति गरे । केन्द्रीय तथ्याङ्क विभागमा म २७ महिना जागीरे भएँ । तथ्याङ्कको काम सुदूरपश्चिमका विकट जिल्लामा गएर गर्नुपर्ने थियो । अझै त सुदूरपश्चिम विकासमा पछि परेको छ भने ५५ वर्ष अघि कस्तो थियो सहजै कल्पना गर्न सकिन्छ । मैले तथ्याङ्क संकलनमा काम गर्दाको इमानले राससमा रिर्पोटर बन्न बल पुग्यो । २०२० साल भदौंबाट मैले राससमा पाइला टेके । राससको पत्रकारिता त्यो पनि सरकारी नियन्त्रण, वाचडगको भूमिका निर्वाह गरे÷गरिन् त्यो त म भन्न सक्दिन् । तर,यत्ति हो आफ्नो इमान्दारी र पेशागत मर्यादामा म कहिले पनि चुकिन् । रिपोटिङका क्रममा देश–विदेश घुम्नुका साथै थुप्रै नयाँ–नयाँ अनुभव हासिल गरेँ । ती मध्ये कति त बिर्सिपनि सके ।     

प्रधानमन्त्रीसँग रिर्पोटिङ गर्दा... 

मेरो अनुभवमा नेपालका प्रधानमन्त्रीहरू सूचनामैत्री हुन्छन् । मैले रिपोटिङ क्रममा  प्रधानमन्त्रीसँगै आफूले नबुझेको कुरा समेत सोधेको छु । ‘मिस कोड’ प्रति म सचेत थिए । एउटा रिपोर्टर सधैं कोड प्रति सजग हुनैपर्छ । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा यो मामलामा निकै उदार थिए । उनी सोध्यो भने भाषण गरेभन्दा छ्याङ्गै पारेर बताइदिन्थे । उहाँले कोसी पश्चिम बाँधको शिलान्यास गर्नुभयो । त्यतिबेला भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीका सचिव पनि सो कार्यक्रममा उपस्थित थिए । त्यो बेलामा पश्चिम नहरको शिलान्यास नभएको भए पञ्चालयतको विपक्षमा बोलिने रहेछ । शिलान्यास भएको हुनाले पक्षमा बोलियो । लैजचौरको सभागृहमा भारतीय सचिवले भाषण गरे । पञ्चायतको विरोध नगरी मौन समर्थन जनाए । सूर्यबहादुर थापाले मलाई बोलाएर, ‘ए ! भैरव जी, डिटेल्स लिनुस् है यों’ भन्नुभयो ।   

कीर्तिबाबुले मलाई ‘‘यस्ले बुझ्छ’’ भन्नुहुन्थ्यो । अन्तरद्वन्द्व कस्तो हुन्छ भने, प्रधानमन्त्री कीर्तिनिधि विष्टको तराईको भ्रमण थियो । म पनि गएको थिएँ । बासुदेव प्याकुरेल प्रधानमन्त्रीको सचिव हुनुहुन्थ्यो । उहाँहरूको ध्येय मैले श्रीमान् सभापति भनेदेखि नै टिपोस् भन्ने हुँदो रहेछ । म चाहिने बुँदा मात्रै टिप्ने । बासुदेव जी मेरो मुखमा हेर्नुहुन्थ्यो । उहाँले कीर्तिबाबुलाई पोल लगाउनु भयो, ‘भैरवले हजूरको भाषण टिप्दै टिपेको छैन् ।’ कीर्तिबाबुले भन्नुभयो ‘ए ! भैरवले बुझ्छ त्यो । ’   तुलसी गिरी खुब रिसाउनु हुन्थ्यो । रिसाएको बेलामा ‘बिर्सिसकेँ’ भन्नुहुन्थ्यो ।  नरिसाएको बेलामा भन्दिनुहुन्थ्यो ।  लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेलामा हामीले सुदूरपश्चिमका ९ ओटै जिल्ला घुम्यौं । त्यसक्रममा त्यहाँको विकटता, कुरितिबारे बुझ्ने मौका पाएँ । केदारमान व्यथितसँग रिर्पोटिङ गर्दा सबैभन्दा गाह्रो हुन्थ्यो । उहाँ भाषण जस्ताको त्यस्तै आउनु पर्छ भन्नुहुन्थ्यो । त्यतिबेला यो निकै चुनौतीपूर्ण थियो । 

प्रधानमन्त्रीको गाली पनि खाएँ




प्रधामन्त्रीसँगको रिपोर्टिङ निकै चुनौतीपूर्ण हुन्थ्यो । सानो तथ्यमा चिप्लिदा गाली खानुर्पे । मैले थुप्रैपल्ट गाली खाएको छु । सूर्यबहादुर थापाले भाषण गर्दा परराष्ट्र नीति असंलग्न भए जस्तै गृह नीति पनि असंलग्न हुनुपयो भन्नुभयो जस्तो लाग्यो । गृहनीति असंलग्न भनेको के ? मैले बुझिन् भन्दै हकार्नु भयो । त्यो बेलामा मलाई गाल प¥यो । त्यस्तै एकपल्ट प्रधानमन्त्री नगेन्द्रप्रसादले आफ्ना मान्छेलाई  ‘आम्ना’ मान्छे भन्नुहुन्थयो । उहाँले पनि मेरो रिपोर्टिङ रुचाउनु भएन् । यस्ता घटना त नगन्य छन् । थुप्रै गाली–ताली प्रधानमन्त्रीज्यूबाट खाइयो पत्रकारिता जिन्दगीमा । 

हिड्दाहिड्दै त्यो सूचना...

म एकदिन सिंहदरबारको बाटो भएर हिंड्दै थिए । एकजना मान्छे भेटिए । नाउँ बिर्सेँ । उनले, ‘भैरव जी, थाहा पाउनु भयो ? भरे, यज्ञबहादुर र भीम नारायणलाई फाँसी दिदैछन्’’ भने । मैले यो भन्दा अरू सोध्न चाहिन् पनि । यो ठूलो सूचना हो एउटा रिपोर्टर बुद्धिले गम गरिसक्यो ।  म सीधै रासस गएँ । अञ्चलाधीस सूर्यप्रसाद श्रेष्ठ थिए । उनले फोन गरे । एकछिनमा आउनुस् है भैरव जी म लेखि पठाउँछु भन्नुभयो ।  म गएँ । ‘‘आज एउटा न्युज छ’’ भने उनले । यज्ञबहादुर र भीमनारायणलाई फाँसी दिने होला भनेँ मैले । उहाँ त चकित हुनु पर्नुभयो । ‘कसरी थाहा पाइस्,’ भन्नुभयो । त्यसै मुखबाट आको हो भनेर ढाँटेँ । उहाँले केरकार गर्नुभयो । मैले टार्न खोजें । स्रोत बताइन् । हामी दुबैले कफी खायौं । आखिरमा उहाँले कुरा त्यही हो भन्नुभयो । खबर अलि अबेर आउँछ, साथीहरूलाई भन्दिनु होला भरे अबेरसम्म बस्नुपर्छ भनेर । तपाईंलाई म घर पठाउने व्यवस्था मिलाउँछु । सूर्यप्रसादले दरबारमा भन्नुभएछ त्यो कुरा । भैरवले थाहा पायो भनेर । दरबारमा मेरो पत्रकारिताको उचाई यति बढ्यो कि त्यसपछि म स्थापित पत्रकार भएँ, कारण त्यहि सूचना थियो । खसीको मासु बेचेको भन्दा पनि ठूलो भयो । भैरव यस्ता कुरा थाहा पाउँछ भन्ने भयो । यो हिड्दा हिड्दैको उपलब्धि थियो ।    

जनमत संग्रहमा पञ्चायतलाई जिताउन केही सचिवहरुले गलत ठाँउबाट पैसा उठाएको भन्ने भान राजा विरेन्द्रलाई परेको रहेछ । फेरि त्यस्तो गडबडी गर्लान भनेर राजाले ५ जना सचिवको जागीर खोस्न प्रधानमन्त्री सूर्यबहादुर थापासँग प्रस्ताव गरेछन् । थापा निकै चलाख थिए ।  सरकार ! सचिवको जागीर खोस्नु हुन्न् । पेन्सन झिक्न मिल्दैन् भनेर थापाले राजालाई सल्लाह दिए । त्यसपछि पाँचै जनालाई योजना आयोगको सहसचिव गराउने निर्णय भएछ । त्यहाँ अधिकार पनि हुँदैन, जागीर पनि रहन्छ । त्यतिबेलासम्म मलाई केही थाहा छैन् । म सिंहदरबारमा मुख्य सचिवको कार्यालयमा गएँ । भागेन्द्रनाथ रिमाल मुख्य सचिव थिए । ‘किन आउनु भो भैरव जी’ उहाँले सोधे । मैले भने –‘ समाचार लिन आएको ।’ अहिले बेला भएको छैन् भन्दै उहाँ प्रधानमन्त्रीकहाँ जानुभो । उहाँले यो कुरा प्रधानमन्त्रीलाई सुनाउनु भएछ । ‘कहाँबाट थाहा पाउँछ भैरवले’ भन्दै सूर्यबहादुर झस्किएछन् । अनि मुख्य सचिवले कुनै तोडमोड नगरी जानकारी दिए । 

विमान अपहरणको समाचार ब्रेक गर्दा...

दरबारका सचिव नारायणप्रसाद श्रेष्ठसँग मेरो थुप्रै पटक कचकच भएको छ । प्लेन अपहरणको खबर आयो । जहाज अपरणसँगै रू.३३ लाख कि ३६ लाख भन्ने विषयमा मत बाझियो । प्रयागराजसिंह त्यो बेलाको निर्माण तथा सञ्चार यातायात मन्त्री थिए ।  हवाई विभाग यायायातभित्र पथ्र्यो । प्रयागसँग म बनेपामा एउटा कार्यक्रमा गएको थिएँ । बाटोमै थाहा भो– विमान अपहरणको भएको सूचना । त्यसपछि हामी सरासर एयरपोर्ट गयौं । मन्त्रीसँग गएको हुनाले मलाई चेकजाँच भएन् । यता सबै जानकारी लिएर म गृहमा न्युज लिन गए । वीरेन्द्रप्रताप शाह कायममुकायम सचिव थिए । उनले मलाई पत्याउँथे । त्यसदिन समाचार दिने बेला भएको छैन् भन्दै टारे । किन भने समाचार दरबारबाट पुष्टि गर्न बाँकी रहेछ । मलाइसँगै लिएर उनी दरबार गए । उनी भित्र मिटिङमा छिरे म बाहिर कुरेँ । न्युज लिएर नारायणप्रसाद बाहिर निस्के । ‘यो जस्ताको तस्तै दिनु’ भने । मलाई एकदमै रिस उठ्यो । रेडियोमा हेडलाइन के भन्ने ? गोरखापत्रमा हेडलाइन के राख्ने ? जस्ताको तस्तै हुँदै हुँदैन म कड्किए । मैले यसो भनेपछि उनीपनि रिसाएर रातो मुख लगाए । सचिवले ‘यहाँ दुई देशबीचको मुद्दा छ बिग्रेला’ भनेर सजग गराएको भनेपछि म पनि सम्हालिएँ । 

 महाकाली अञ्चल घुम्न गएको बेला सुर्खेतमा राजासँग भेट भयो । म राससमै काम गर्थेँ । राजासँग त्यस क्षेत्रकाबारेमा कुरा राखेँ । राजा वीरेन्द्र प्रतिप्रश्न गर्थे । उहाँ भर्खरै राजा भएका थिए । मैले राजासँग कर्णालीको विकासबारे कुरा राखेँ । कर्णालीको विकासका लागि कर्णालीको किनारै किनार सडक बन्नुपर्छ  । ध्यानपूर्वक सुनेका राजाले ‘‘आउँदा ट्रक रित्तै आउने ?’ भने । मैले स्याउका बोराले ल्याउने सुझाए । त्यसपछि म राजा विरेन्द्रको युगोस्लोभियाको भ्रमणमा सहभागी भए । भ्रमणका क्रममा भएको आपसी छलफलको समाचार हाल्ने बारे विवाद भयो । चिरन शम्शेरले दुईदेशबीच के कुरा भयो, समाचार हाल्यौं भनेँ । उनले दुइदेश बीच आपसी चियापान सम्पन्न भयो भयो भन्ने समाचार हाल्नु भने, मैले जिद्दी गरेँ । मिल्दैन भनेर ।  उनले हप्काए । मैले चिरण सम्शेरसँग जिद्दी गर्दा जागिर गयो भन्ठानेँ । तर, त्यस्तो भएन् ।  

राससबाट राजीनामा 

नेपालमा राससभन्दा अघि सगरमाथा संवाद समिति र नेपाल संवाद समिति अस्तित्वमा थिए । म सगरमाथा संवाद समितिमा पनि काम गर्थें । पञ्चायत आएपछि विश्वबन्धु थापाले दुबै समितिलाई एक गरेर राष्ट्रिय संवाद समिति अहिलेको राष्ट्रिय समाचार समिति (रासस) को स्थापना गरे २०१८ सालमा । थापा राष्ट्रिय निर्देशन मन्त्री थिए ।  राससले रिपोर्टर माग्यो । मैले जाँच दिएँ । मलाई अंग्रेजी आउँदैनथ्यो । अंग्रेजी पेपर पनि थियो । म पास हुने कुरै भएन । म फेल भएँ । मसँगै जाँच दिएर पास भएका एकजनालाई त्यहाँको काम मन परेनछ । उनले राजीनामा दिए र बोर्डले त्यो ठाँउमा मलाई नियुक्ति गर्यो । मेरो खुसीको सिमा रहेन् यसरी प्राप्त गरेको जागीर थियो । त्यतिबेला तलब थियो रू.२०० ।  ०३६ सालमा जनमसंग्रहपछि मैले राससबाट राजीनामा गरँे । दिलो ज्यान दिएर झण्डै डेढ दशक मैले राससमा बिताएँ ।     

अहिलेको पत्रकारिता

त्यो बेलामा पत्रकारितामा एउटा मिसन हुन्थ्यो । यसलाई व्याख्या गर्ने आ–आफ्नो ढंग छन् । अहिले व्यावसायिक पत्रकारिता भित्र पनि केही विकृति नभएका होइनन् । अहिले व्यवसायिकताको नाममा व्यापारिक काम भइरहेको छ । समाजसेवा भन्दापनि नाफा कमाउने ध्येय पत्रकारितामा देखिनु राम्रो लक्षण होइन । हाम्रो पालामा पैसा कमाउने उद्देश्य त्यति थिएन । अहिलेको पत्रकारिता कता–कता ‘साहु’को नियन्त्रणमा चलेको छ ।  जसले ठूलो विज्ञापन दिन्छ उसकै पक्षपोषण छ भन्छन् साथीहरू । विज्ञापन र समाचारबीच अन्डरस्ट्यान्डिङ भयो । निचोडमा भन्दा अहिलेको पत्रकारिता स्वतन्त्र, स्वच्छ, स्वायत्त छैन् । 

अपवाद बाहेक अहिलेका पत्रकारहरू कम अध्ययनशील छन् । पत्रकारिताको स्तर वृद्धि नहुनुमा पत्रकार साथीहरूको पनि कमजोरी छ । अध्ययन कम छ ।  समाचारको स्रोत कमजोर छ । केहीदिन अघि कतिओटा मन्त्रालय हुन्छ भन्नेमै तीनदिन फरक–फरक तथ्य आयो । त्यस्तै मन्त्रीहरूको सपथग्रहण ४ बजे भनेर नेपाल टेलिभिजनले समाचार प्रसारण ग¥यो । ४ रै बजिरहँदा पनि सोही समाचार भन्छ बा ! वास्तवमा ४ बजे सपथग्रहण भएन । त्यसैले बुद्धिको प्रयोग गर्नु प¥यो नि ! त्यो न्युज झिकेको भए हुन्थ्यो । किन समाचार दोहो¥याउनु ? त्यो निर्णय त गर्न सक्नुपर्ने हो ।  निर्णायक क्षमता देखिएन । कि त्यो परिपक्व नभईकन समाचार दिन खोज्दा यस्तो अवस्था हुन्छ कि कम अध्ययनले । 

२५ फाल्गुण ०७४ मा अमरवाणी डिजिटल पत्रिकामा प्रकाशित । 

Comments