साहित्यकार रमेश शुभेच्छुको 'डेरा' अनुभूति: कोठो साँघुरो तर सबै अटेको थियो

 रमेश शुभेच्छु



साथीहरु फोटो च्यालेन्ज गरिरहन्छन् । म पुरानो फोटोलाई अझ ऐतिहासिक बनाउन लुकाएर राखिरहन्छु । अस्ति जगत् भाइले अर्को गाउँले भाइबहिनीसँग खिचेको ऐतिहासिक फोटो सार्वजनिक गरिदिए । त्यसबारे लेख्न भ्याएको छैन । आज दिनेश भाइले अर्को सार्वजनिक गरिदिए । यस फोटोलाई दोहोर्याएर हेरेँ । यसले मलाई निकै भावुक पनि बनायो ।

भित्तामा रहेका भानुभक्त आचार्य, मोटीराम भट्ट, लेखनाथ पौडेल,लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, वी.पी कोइराला, गुरुप्रसाद मैनाली र पारिजातका फोटोहरु आज पनि उही फ्रेममा मेरो बैठक कोठामा छन् । यो इलामको गोलबस्तीस्थित पवन खड्गीका घरको डेरामा खिचिएको फोटो हो ।
यो कोठा म सोह्र ठाउँ डेरा गरी बसेमध्येको साँघुरो कोठो हो र ऐतिहासिक छ । त्यो साँगुरो कोठमा दिनेश र म दुई दाजुभइ बस्थ्यौँ । भाइ खगेन्द्र पनि त्यसैमा अटेका थिए । त्यस बेला मलाई त्यो कोठाको भाडा रु सुरुमा ३०० र पछि ३५० तिर्न निकै कठिन थियो । त्यो कठिनाइको ग्राफ आज फरक ढङ्गमा यथावत छ । भोक प्यास फरक ढङ्गमा यथावत छ ।
आज यो फोटोलाई के सम्झिएर हो मोवाइलको क्यामेरामा कैद गरेको थिएँ । फेरि के सम्झेर हो हाम्रो पारिवारिक ग्रुपमा पठाउन मन लागेर त्यता पठाएको थिएँ । भाइले भेट्नासाथ सेयर गरेछन् । अब सार्वजनिक भयो । यसका फोटोग्राफर स्वयम् त्यसबेलाका घरबेटी पवन खड्गी हुन् ।
त्यसै कोठमा बसेर मैले हजुरबा काव्य, मेचीपद्यमाला र इलामेचेलीका रचनाहरु प्रकाशन गरेको थिएँ । सामना पत्रिका र अरु पत्रिकाहरु सम्पादन गरेको थिए । ती किताब र पत्रिका प्रकाशन गर्दा भाइ र आफ्नो पोषणको खानेकुरा काटेको, रहरहरु मारेको थिएँ । पृष्ठभूमिमा मैले ग्रीन भ्याली एकेडेमी पढाउन जाँदा बोक्ने गरेको ब्याग, सरस्वतीको फोटो र कलम दानी छन् । ती पनि अहिलेसम्म सुरक्षित छन् । भित्ताको घडी चल्न छोड्यो तर त्यसलाई फोटोफ्रेम बनाएर एउटा अविस्मरणीय फोटो राखेको छु ।

भित्तामा देखिएको फोटो मेरै हो सुरक्षित छ । टोपी भाइको हो उनै जानून् कहाँ छ ? हामी बसेका दुईवटा खाटमा ओछ्याएका तन्ना फाटे, डसना र सिरक सुरक्षित छन् । टोपीले छोपेको तुलमा सिताराले वेलकम लेखेर कसैले उपहार दिएको थियो । त्यो उपहार पनि सुरक्षित छँदैछ । त्यस कोठामा राखिएका दुईवटा खाटका बिचमा मुडा मात्र अट्ने ठाउँ थियो । त्यो मुडामा बसेर खाटमा किताब फिँजाएर पढ्थे लेख्थेँ । कागज फारु गरी गरी लेख्थेँ । घरबेटी आमा धेरैचोटि १२ बजेतिर कराउनुहुन्थ्यो बत्ती बालेर निधाइस् कि भनेर ।
त्यस बेला कतै कार्यक्रममा अतिथि भएर व्याज लगाउन पाउनुलाई गौरव मानिन्थ्यो ती पनि सुरक्षित छन् । म कलेजको विद्यार्थी भन्दा स्कुलको सरका रुपमा परिचित थिएँ । तयो क्रम अहिले पनि छँदैछ । हामी दाजुभाइ पनि सकुशल छौँ । दुवैको पढाइ पनि चलिरहेको छ । हाम्रा घरबेटी र साथीभाइहरु मनको भित्तामा छँदैछन् । त्यस कोठामा कोचिएका करिब दुई हजार किताब उसरी नै सुरक्षित छन् । त्यसबेला लेखिएका दैनिकीका डायरी झन् सुरक्षित छन् , यो फोटो जस्तै । मात्र समय दुई दशक बितिसकेको छ ।
त्यस घरका भित्तामा हामीले लुगा झुन्डाउन र फोटो राख्न ठोकेका काँटीका डोबहरु हुँदैहोलान् । माथिपटि टिनको छानो थियो सायद त्यो फेरियो होला ? पृष्ठभूमिको झ्यालको माथिल्लो भागमा देखिएको बुटा जस्तो आकृति बुटा नभई त्यस कोठाको भेन्टिलेसन हो । झ्यालमा कुनै रड थिएन तर चोरीको डर थिएन । कोठो साँघुरो थियो तर सबै कुरा अटेको थियो ।
आज फोटोसँगै त्यस माटोमा भेटिएका साथीभाइसँगको सम्झना अझ गाढा बनिरहेछ । यही फोटोको कोठाबाट निस्किएर सुनाखरी बोर्डिङमा आधा दिन र ग्रीन भ्याली एकेडेमीमा आधा दिन पढाएका शिष्यशिष्याको याद झन् आइरहेछ । सहकर्मीको याद झन् आइरहेछ ।

यस कोठमा ट्युसन पढ्न आउनेहरुलाई झन् सम्झिएको छु । साना सपना हुने मान्छेलाई ससाना कुराको महत्व हुँदो रहेछ । सपना यथावत् छ । हामी किताबमा झोक्रिनुसँगको सपना पनि यथावत छ । कोही काठमाडौँतिर आउनुभयो भने बाटो नकाट्नुहोला है ।

(हामीले यो सामग्री उनै साहित्यकार रमेश शुभेच्छुको फेसबुकबाट लिएका हौं)

Comments