फिचर : शब्द बटुल्न गाउँ चहार्ने कमलीकान्त

रमेश दवाडी 



 काठमाडौं– गाउँघरमा बुढापाकाको जिब्रोमा झुन्डिएका शब्दलाई टपक्क टिपेर लोकगीतको रूप दिने गायक हुन्, कमलीकान्त भेटुवाल ।

सानै उमेरदेखि लोकगीतमा चासो राख्ने कमलीकान्त गाउँमा हुने विवाह, ब्रतबन्ध, पूजाआजामा गीत गाउथेँ । विद्यालयमा कुनै कार्यक्रम हुनेबित्तिकै गाउन अघि सर्थे । 
‘जब म गाउँमा गीत गाउथेँ, सबैले मेरो प्रशंसा गर्नुहुन्थ्यो । राम्रो गाइस् भनेर हौसला दिनुहुन्थ्यो,’ कमलीकान्त भन्छन्, ‘यसो भनिरहँदा म खुसी हुन्थेँ । यसबाट मलाई गाउने प्रेरणा मिल्थ्यो ।’ 

त्यसरी लोकगीतमा लागेको मान्छे आज राष्ट्रिय कलाकारको रूपमा परिचित छ । ‘फूलै फुल्यो ओइलेर गई गयो’ उनको पहिलोे लोकगीत हो । यो गीत उनले २०५९ सालमा म्युजिक नेपालमा रेकर्ड गराए । ‘त्यसबेला गीत रेकर्ड गराएर दर्शक–श्रोतामाझ पुर्याउन धेरै दुःख हुन्थ्यो । अहिलेजस्तो मिडिया र म्युजिक कम्पनी छ्यासछ्यास्ती थिएनन्,’ उनी भन्छन् । 

युवापुस्तामाझ राम्रो चर्चा पाएको गीत ‘झम्के गुलेली’ रेकर्ड गराउँदासम्म उनी छायामै थिए । जब झम्के गुलेली रेकर्ड भएर बजारमा आयो, उनी एकाएक चम्किए । उनको गीत रेडियो, टेलिभिजनमा बज्न थाल्यो । युट्युबमा पनि यो गीत लाखौँले हेरेका छन् । 

१८ असार २०३६ मा संखुवासभामा जन्मिएका कमलीकान्तले रेडियो नेपालबाट २०६० सालमा स्वर परीक्षा पास गरेका थिए । 

गीत लेखन र गायनमा मात्रै होइन, पढाइमा पनि अब्बल छन् कमलीकान्त । उनले त्रिभुवन विश्वविद्यालयबाट २०६८ सालमा अंग्रेजीमा स्नातकोत्तर गरे । लोकगीतको क्षेत्रमा प्रवेश गर्नेहरूको शैक्षिक स्तरमाथि हेयको दृष्टिकोण राख्नेहरूका लागि कमलीकान्त एक गतिलो जवाफ हुन् । 

‘कलाकारहरूले गीत–संगीतमा मात्रै नभई पढाइमा पनि उत्तिकै राम्रो गर्ने हो भने समाजमा छुट्टै शान हुन्छ,’ पढाइको महत्व दर्शाउँदै कमलीकान्त भन्छन्, ‘अनि दर्शक–श्रोताले हेर्ने दृष्टिकोण पनि सकारात्मक हुन्छ ।’ 

उनका चारवटा एल्बम बजारमा आइसकेका छन् । दुईवटा एल्बमको तयारी गर्दै छन् । उनी आफ्नो गीतमा प्रायः आफैँ संगीत भर्छन् । चारवटा एल्बममा ३२ वटा गीत छन् । झम्के गुलेलीको मात्रै ४ भाग छन् । उनका गीतहरू म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ । 

‘लोकगीतमा बहुभाषाको प्रयोग किन र कसरी ?’ विषयमा विद्यावारिधि गर्दै छन् कोमलीकान्त । यो उनको अर्को सफलता हो । 

कमलीकान्तले थुप्रै लोकभाका संकलन गरेका छन् । उनका संकलनमा बाह्रमासे, झयाउरे, देउसीभैलो असारे, गोठाले, हाकपारे, किसानी गीत ऋतुकालीन भाका (दाइँ) तथा माया पिरतीका भाका छन् । 

लोकगायकको भिडमा कमलीकान्तको फरक विशेषता भनेकै गाउँघरका कुनाकाप्चा पुगेर गीत संकलन गर्नु हो । गाउँघर, उकाली–ओरालीमा जहाँ लोक छ, त्यहाँ पुगेर उनी बुढापाकाले घाँसदाउरा गर्दा गुनगुनाएका शब्द टिपेर ल्याउँछन् र गीत बनाउँछन् ।

शब्द संकलन गर्न गाउँ–गाउँ चहार्नुको अर्थ प्रस्ट्याउँदै कमलीकान्त भन्छन्, ‘म पूर्वी पहाडको, उच्च हिमाली जिल्ला संखुवासभाको पहाड–पखेराबाट उकाली–ओराली गरेको मान्छे । त्यही भएर पनि होला, गाउँकै याद आउँछ । गाउँमा ठाउँ विशेष, वनपाखा विशेषका कुरा गर्छौं । मन त्यही ठाउँमा पुग्छ । त्यो ठाउँकै सपना देखिन्छ । जन्मेको, हुर्केको, बढेको, पढेको हुनाले पनि मेरो गीतचाहिँ विशेषगरी गाउँकै हुन्छ ।’ 

गाउँ डुल्ने क्रममा जन्मिएको गीत हो– झम्के गुलेली । गीत पहिल्याउँदाको रोचकताबारे बोल्दै कमलीकान्त गीतको शब्द–संकलनको पक्ष एकदमै अनौठो रहेको बताउँछन् । 

‘यस गीतका मूल सर्जक उमापति अधिकारी हामीसामु हुनुहुन्न । मैले भेट्न पनि सकिनँ । उहाँका आफन्तहरूले, मेरै बुबा, आमा, मामाहरू, दाइहरूले ‘ल है यस्तो गीत पनि छ, एउटा बुढाले गाउँथे’ भनेर सुनाउनुभयो । को हुनुहुँदो रहेछ भनेर खोजी गर्दै जाँदा मान्छे नभेटिए पनि उहाँको नाम भेटियो । हेमकुमारी कट्टेल, शोभा बाराकोटीलगायत सबैका शब्दहरू खोजखाज पारेर मैले आफ्नो भाकामा, आफ्नो स्वरमा सजाएको हुँ,’ कमलीकान्त भन्छन् । 

यसरी गीत बटुल्ने कमलीकान्त ‘लोकगीतको साधना हार्मोनियमको पर्दामा रहरले खोजेर भन्दा पनि गाउँगाउँमा पुगेर गर्नुपर्ने’ सुझाब नयाँ पुस्तालाई दिन्छन् ।
लोकसंगीतमा प्रवेश गरेका नयाँ कलाकारले पुरानाले जत्तिको मिहिनेत गरेको देखिँदैन । ‘एकैपटक चर्चा कमाउन खोज्छन्,’ कमलीकान्त भन्छन्, ‘यसले राम्रो नतिजा दिँदैन ।’ 

लाकेगीत र समाजको सम्बन्धलाई केलाउँदै कमलीकान्त लोकगीत गाउने, लोकगीतलाई माया गर्नेले समाज बुझ्ने बताउँछन् । भन्छन्, ‘लोकगीत गाउनेले समाज पढ्छ । समाजसँग सम्बन्ध गाँस्न सक्छ । बुबा र छोराको सम्बन्धजस्तै यसमा एकदम अन्योन्याश्रित सम्बन्ध छ ।’

‘समाज र लोकगीत एक–अर्काका परिपूरक हुन् । समाजबाट आएका लोकगीतले समाजको प्रतिनिधित्व गर्छन् । कुन समाज कसरी बोलेको छ, कसरी गुनगुनाएको छ, कसरी भक्कानिएको छ, कसरी दुखित छ र कसरी खुसी छ– लोकगीतमार्फत उदघोष हुन्छ,’ उनी थप्छन् ।  

कमलीकान्तका भनाइमा अहिलेको पुस्ताले त्यो यथार्थलाई बाहिर ल्याउन सक्तैन । त्यस्तो दुःख थियो भन्नेसम्म पनि पत्याउँदैन । नयाँ पुस्तासँग त्यति सन्तुष्ट नभएका कमलीकान्त रातारात हिट हुनका लागि गीतका शब्द, संगीत चोर्ने प्रवृत्ति बढेको बताउँछन् । विकृति केलाउँदै उनी भन्छन्, ‘मानिसहरू संस्कृति बचाउनेभन्दा पैसा कमाउतिन लागे ।’


२७ असार, २०७६ फरकधार अनलाइन पत्रिकामा प्रकाशित फिचर 

Comments

  1. समाज र लोकगीत एक–अर्काका परिपूरक हुन् । समाजबाट आएका लोकगीतले समाजको प्रतिनिधित्व गर्छन् । कुन समाज कसरी बोलेको छ, कसरी गुनगुनाएको छ, कसरी भक्कानिएको छ, कसरी दुखित छ र कसरी खुसी छ– लोकगीतमार्फत उदघोष हुन्छ,

    Thank you Kamalikanta Sir. CONGRATULATIONS

    ReplyDelete

Post a Comment