कोरोनाका कारण अमेरिकी राष्ट्रपतिले समेत नमस्कार गर्न थालेकोमा खुसी छु : रामचन्द्र पौडेल

 २०७६ चैत ६ बिहीबार,नयाँ पत्रिका 

रमेश दवाडी/काठमाडौं,



विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इरान, इटाली, क्यानडालगायत मुलुकका कतिपय उच्च नेता प्रताडित छन् । शीर्ष राजनीतिक व्यक्तिसमेत कोरोना भाइरसबाट संक्रमित हुनुको मुख्य कारण धेरैसँग सम्पर्क हुने र त्यसक्रममा हात मिलाउने कार्यलाई मानिएको छ । 

भेटेपछि कुनै न कुनै खालको अभिवादन त गर्नैप¥यो, त्यसैले यतिवेला ‘नेपाली अभिवादन’को शैली मानिएको नमस्कार विश्वव्यापी रूपमा लोकप्रिय हुन थालेको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । 

अभिवादनको रूपमा नमस्कार लोकप्रिय बन्न थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हर्षित छन् । कोरोनाबाट पनि जोगिने, नेपाली परम्परागत शैली र संस्कृति पनि जोगिने भएकाले पौडेल खुसी बनेका हुन् । उनी भन्छन्, ‘हामीले संस्कार र संस्कृति पालना गर्नुपर्छ । नियमित नित्यकर्ममा रहिरहनुपर्छ अनि मात्र यस्ता चुनौतीबाट पार पाउन सक्छौँ ।’ 

प्रस्तुत छ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँग नयाँ पत्रिकाले कोरोना भाइरसका सम्बन्धमा गरेको फोन-संवाद :


कोरोना भाइरसको संक्रमणबाट जोगिन तपाईंले के–के गर्नुभएको छ ? 
मातातीर्थको एक समारोहमा अघिल्लो हप्ता मैले भनेको थिएँ– हाम्रो संस्कृतिले हामीलाई जोगाउँछ । 

खानपिन कस्तो गर्ने, कस्तो नगर्ने ? रहनसहन कस्तो गर्ने, कस्तो नगर्ने ? नुवाइधुवाई कस्तो गर्ने कस्तो नगर्ने ? हजारौँ वर्षको अनुसन्धानबाट हाम्रा पितापुर्खाले चलाएको प्रथा, प्रचलन, रीतिरिवाज, संस्कार, संस्कृतिले हामीलाई यी सबै कुरा बताएका छन् । 

त्यसैले, हामी अहिलेसम्म जोगिएका हौँ । संस्कृति र संस्कार पालना गर्ने, सतर्क हुने, जोगिने, सावधान हुने र नित्यकर्ममा रहने हो भने कोरोना भाइरसको संक्रमणबाट बच्न सक्छौँ । 
 
व्यक्तिगत रूपमा चाहिँ यहाँले के–कस्ता सावधानी अपनाउनुभएको छ ? 
भेटघाट कम गरेको छु । कतिपय कार्यक्रम ‘क्यान्सिल’ गरेर बसेको छु । साथीहरू पनि अनुशासित हुनुहुन्छ । त्यसैले परिस्थिति बुझेर भेट्न आउनुभएको छैन । 

घरमा ‘स्यानिटाइजर’ राख्नुभएको छ कि छैन ? 
राखेको छु । साबुनपानीले सधैँ हात धुन्छु । मेरो यो चलन पहिलेदेखिकै हो । 

कृष्ण सिटौला त गोजीमै ‘स्यानिटाइजर’ बोकेर हिँड्नुहुँदो रहेछ । तपाईं त्यसरी बोक्नुहुन्छ कि हुन्न ? 
खल्तीमा बोकेर हिँड्दिनँ । कोरोनाप्रति सचेत छु । मजति ढुक्क कोही छैन होला । मलाई संस्कार र संस्कृतिप्रति विश्वास छ । 

कोरोनाको संक्रमण हुने डरले सर्वसाधारण र नेताहरूले समेत एक–अर्कासँग हात मिलाउन छोडेका छन् । तपाईंले के गर्नुहुन्छ ? 
जब काठमाडौंमा सात दलको बैठक हुन्थ्यो, कम्युनिस्ट नेताहरूलाई म सधैँ भन्थेँ– साथी हो, ‘नमस्कार’ भन्नुहोस् न । यो चाहिने–नचाहिने गरी केको हात मिलाउने ? हात मिलाउन घुम्दै–नाच्दै हिँड्नुहुन्छ, एकैपटक सबैलाई ‘नमस्कार’ भनेपछि सबैलाई भ्यायो नि । दुई हात जोड्दा कति राम्रो हुन्छ । 
 
उहाँहरूले के भन्नुहुन्थ्यो ? 
पहिलेपहिले त खिसी गर्नुहुन्थ्यो । पछिचाहिँ उहाँहरूले पनि ‘रामचन्द्रजीको कुरो ठीकै हो कि क्या हो’ भन्न थाल्नुभयो । अहिले त उहाँहरूलाई पूर्ण रूपमा लागेको होला कि रामचन्द्रले त्यतिवेला एकदम सही कुरा भनेको रहेछ । 

किन ? 
किनभने कोरोनाको संक्रमण विश्वव्यापी रूपमा फैलिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नमस्कार गर्न थाले । युरोपियन, कम्युनिस्ट सबैले नमस्कार गर्न थाले । नमस्कार विश्वव्यापी रूपमा फैलिएकोमा म खुसी छु । 

Comments