काेराेना जाेखिम : वृद्धाश्रममा के गर्दै छन् ज्येष्ठ नागरिक ?

 २०७६ चैत २४ सोमबार,नयाँ पत्रिका 

रमेश दवाडी/काठमाडौं



पशुपतिस्थित समाजकल्याण वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकमध्ये अधिकांशसँग रेडियो छ । संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणबारे उनीहरू रेडियोमार्फत नै सुसूचित छन् । र, आफू पनि सचेत बनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमण (कोभिड–१९)को सबैभन्दा बढी जोखिममा ज्येष्ठ नागरिक नै छन् । रोग प्रतिरोधी क्षमतामा सीधा असर गर्ने भएकाले उनीहरूको विशेष हेरचाहमा जोड दिएको छ, संगठनले ।

वृद्धाश्रम व्यवस्थापनले पनि १ चैतदेखि ज्येष्ठ नागरिकसँग बाह्य व्यक्तिको भेटघाट बन्द गरेको छ । ‘उहाँहरूलाई बाहिर निस्किन पनि दिएका छैनौँ,’ कार्यालय प्रमुख देवी चालिसे भन्छिन् । यस वृद्धाश्रममा एक सय ४० जना ज्येष्ठ नागरिक आश्रित छन् । उनीहरू सबैलाई कोभिड–१९ संक्रमणको लक्षण, बच्ने उपाय र हात धुन सिकाइएको छ ।

एमबिबिएस अध्ययनरत केही विद्यार्थी आएर उनीहरूलाई नियमित हात धुने विधि सिकाएर गए । वृद्धाश्रमले ठाउँ–ठाउँमा साबुनपानी राखेर हात धुन सहज बनाएको छ । कर्मचारीहरूलाई पनि साबुनपानीले हात धुन लगाएर मात्र प्रवेश दिइने गरेको चालिसे बताउँछिन् । खोक्दा र हाच्छ्युँ गर्दा रुमालले मुख छोप्न तथा बस्दा र हिँडडुल गर्दा सामाजिक दूरी कायम गर्न सिकाइएको छ, ज्येष्ठ नागरिकलाई ।

चालिसेका अनुसार वृद्धाश्रममा दाल, चामल, तरकारी, ग्यासलगायत दैनिक उपभोग्यवस्तुको अभाव छैन । तर, दरबन्दीका दुईमध्ये एकजना मात्र स्टाफ नर्स छन्, अहिले । कोरोना संक्रमण फैलिनुअघि लन्डन गएकी एक स्टाफ नर्स उतै अड्किन पुगिन् ।

स्टाफ नर्स जेनिसा बस्नेतका अनुसार चीनमा कोरोना फैलिनेबित्तिकै वृद्धाश्रममा सावधानी अपनाउन थालिएको थियो । ‘बुबा–आमा अहिलेसम्म ठीक अवस्थामा हुनुहुन्छ,’ बस्नेत भन्छिन्, ‘उहाँहरूलाई छिटो संक्रमण हुन्छ भनेर सबैले सावधानी अपनाएका छौँ ।’ उनका अनुसार बिहान, दिउँसो र साँझ तीनपटक स्वास्थ्य जाँच गर्ने गरिएको छ । खोकी लाग्नासाथ तत्काल औषधि दिइने गरेको छ ।

तर, वृद्धाश्रममा तीनवटा मात्र आइसोलेसन बेड छन्, त्यो पनि एउटै कोठामा । ज्येष्ठ नागरिकमा कोरोना भाइरसको संक्रमण देखिइहाल्यो भने पर्याप्त पूर्वतयारीको अभाव देखिन्छ । ‘संक्रमण देखियो भने छुट्टै राख्न ठूलो कोठा बनाउन सक्ने अवस्था छैन । एउटा सानो कोठा छ । त्यसमा तीनवटा बेड राखेका छौँ । र, सामाजिक दूरी कायम गरेका छौँ,’ चालिसे भन्छिन् ।

Comments